प्रसुतिमा राज्यको नीति र विद्यमान अबस्था
बसन्ती शाही,
सिमकोट, हुम्ला
जिल्ला प्रशासन कार्यालय हुम्लाबाट नागरिकतामा प्रदान गरिएको मिती २०२४।४।२ रहेछ तदनुसार उनी अहिले ४२ बर्ष पार गर्न थालिन् । उमेर कति बर्ष भयो भनी सोध्दा उनी बताउन सक्दीनन् । तर उनलाई उनकी आमाले पुषको महिनामा हिउ परेको बेला जन्मेकी थिईस भनेकी थिइन् रे । उनको नागरिकता भने साउन महिनामा जन्मेको भनेर दिईएको रहेछ । उनले आफै प्रेम विवाह गरेकी भए पनि विवाह गरेको बर्ष पनि उनलाई थाह छैन । दश बर्ष अगाडी उनका श्रीमानले स्थायी बन्ध्याकरण गर्दा सम्म उनले २ छोरी र २ छोरा गरी जम्मा ४ वटा सन्तानलाई जन्म दिईसकेकी थिईन् । त्यस मध्ये २ जना छोरीहरु मरिसकेका थिए ।
मातृ मृत्यूदर घटाउने विभिन्न उपाय मध्ये पछिल्लो पटक निःशुल्क प्रसुति सेवा प्रारम्भ गरिएको छ । नेपालभरीका ८ सय ५० स्वास्थ्य संस्थाबाट गर्भवती महिलाले निःशुल्क परामर्श, औषधि एवं सबै किसिमका स्वास्थ्य सेवा पाउन थालेका छन् । १ सय दिनअघि प्रारम्भ गरिएको यो सेवामा गम्भीर प्रकृतिका शल्यक्रिया, औषधि तथा भर्नाशुल्क पनि मिनाहा गर्न थालिएको छ । स्वास्थ्य मन्त्रालयले निःशुल्क प्रसुति सेवाको तिन महिने अवधिको मूल्याङ्कन गर्दै यसले मातृ मृत्युदरमा कमी ल्याउन महत्वपूर्ण योगदान गर्ने निष्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठनले १३ बर्ष अघि गरेको एक सर्भेक्षणले नेपाली आमाहरु ठूलो जोखिममा रहेको बताएको थियो । त्यस बेला एक लाख शिशु जन्मदा ५ सय ३४ आमा ज्यान जान्थ्यो । (नारी मासिक, २०६६ को असार अंक) त्यस पछि गएको एक दशकमा मातृ मृत्यूदर कम गर्न प्रचार प्रसारका साथ अस्पतालमा प्रसुति सेवा लिन प्रोत्साहित गरियो । प्रजातान्त्रिक सरकारले गाँउ गाँउमा स्वास्थ्य चौकी खोल्न तथा स्वास्थ्य कर्मीहरुलाई गाँउ जान ठूलो सुविधा दिन थाल्यो । विभिन्न गैर सरकारी संस्थाहरुले पनि यसमा ठूलो सहयोग गरे । फलस्वरुप १ लाख शिशु जन्मदा २ सय ५३ जना आमाको ज्यान जोगिन थालेको छ । अहिले मातृ मृत्युदर प्रति लाख २ सय ८१ मा झरेको छ । यद्यपी जनसंख्याको बृद्धिसंगै प्रत्येक बर्ष हजारौं आमाले प्रसुतिकै कारण ज्यान गुमाउनुपरेको छ । अझै पनि नेपाल विश्वका मातृ मृत्यूदर बढी भएको मुलुककै सूचीमा छ । यसलाई मध्ये नजर गर्दै सरकारले प्रसुतिका लागि लाग्ने सम्पूर्ण खचै निःशुल्क गर्ने निर्णय गरेको थियो । यो सहुलियतले मातृ मृत्युदर प्रतिलाख १ सय ३४ मा झर्ने अनुमान गरिएको छ । यसो भयो भने प्रत्येक बर्ष १ हजार भन्दा बढी महिलाले प्रसुतिकै कारण ज्यान गुमाउनु पर्ने छैन ।
यो उपलब्धि हाँसिल गर्न भने त्यती सजिलो छैन । अहिले पनि घरमै प्रसुति गराउनेको संख्या ठूलो छ । भौगालिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्नु तथा स्वास्थ्यकर्मी उपलब्ध नहुनु आदि चुनौति विद्यमान छन् । त्यति मात्र होईन, प्रशुति निःशुल्क हुन्छ भन्ने कुरा यतिका दिन विति सक्दा पनि जानकारी नपाउने ग्रामिण जनताको संख्या ठूलो छ । संचार सुविधाबाट बन्चित लाखौं जनतामा यो सुचना पुर्याउने संजाल सरकारले अझै तयार पार्न सकेको छैन । नयाँ सरकारको गठन संगै “स्वास्थ्य सेवा जनताको अधिकार” को पुरानो नारालाई वास्तविकतामा उतार्ने प्रयास हुनु पर्छ । यसका लागि निःशुल्क प्रसुति सेवा ग्रामिण क्षेत्रमा मात्रै होईन सहरी क्षेत्रमा पनि लागु हुनु पर्छ । सेवा निःशुल्क भनिए पनि अझै विभिन्न बहानामा शुल्क लिने गुनासा आईरहेका छन्, त्यसलाई रोक्न सक्नु पर्छ अनि मात्र हजारौं गर्भवति महिलाको ज्यान जोगाउने उपलब्धि हाँसिल हुन सक्छ ।
जिल्लाको सदरमुकाम सिमकोट गा.वि.स. वार्ड नं. ३ निवासी सौंरीकला रोकाया आफ्नो विगतलाई सम्झीन चाहन्नन् । किनभने प्रेम विवाह गरेको भए पनि उनले मानिसले पाउने सबै किसिमका दुःख पाईसकेकी छिन् । खाने लाउने समस्या भन्दा पनि बाबु विना एक्लै साना बच्चाहरु जन्माउनु र हुर्काउनमा पाएको पिडा उनको लागि निकै ठूलो छ । उनी भन्छीन् “श्रीमानको घरमा पहिलो श्रीमति र उनबाट ३ जना बच्चा पनि जन्मी सकेका छन् भन्ने कुरा थाह थियो । गाँउमा देउडा खेल्ने चलन थियो । दुई दिन विराएर डेउडा खेल्न जान्थ्यौं । राती डेउडा खेल्न जाँदा जाँदा उनीसंग माया प्रेम बस्यो । उनले पनि फकाए । नाई भन्न सकिन र पछि यस्तो दुःख हुन्छ भन्ने कुराको चेतना पनि म मा भएन । राती खेल्ने ठाँउबाट जाँउ भने र सरासर उनकै घर गयौं ।” शुरुमा सौताले पनि निकै माया गर्थिन् । भोक लाग्यो होला भनेर बेलाबेलामा खान पनि दिन्थीन् । हामी दुई बहिनी मिलेर बसे कसैले पनि केहि गर्न नसक्ने कुरा पनि उनकी सौताले उनलाई सम्झाउने गर्थिन् । उनका श्रीमान घरमा नहुँदा त झन धेरै माया गर्थिन् । कहिले पनि मसंग झगडा गरेकी थिईनन् । एक बर्ष सम्म यस्तै लाडप्यारमा सौता संगै दिदी बहिनीको जस्तै माया साँटासाँट गरी श्रीमानको घरमा विताईन् । उनलाई सौता भन्ने कुरा त यस्तो राम्रो हुँदोरहेछ भनेर खुसी लाग्यो तर विस्तारै उनको जीवनमा अचानक परिबर्तन आयो । त्यस्तो माया गरेर संगै बाँच्ने संगै मर्ने कसम खाई आफ्नो बनाएको श्रीमानले पनि एक बर्ष पछि त उनीसंग बोल्नै छोड्यो । सौताले पनि माया गर्न छोडिन् ।
एक बर्ष पछि उनी माईतीको घरमा फर्किन् । माईतीमा पनि बुवा थिएनन् । उनी नजन्मदै उनका बुवा परदेशिएका थिए । उनी कहाँ गए, मरे अथवा ज्यूदै कतै भुले अहिले सम्म पनि थाह छैन । आमाले अर्काे विवाह गरेकी थिईन । उनले पनि सांैरीकलालाई आफ्नै छोरी जस्तै माया गर्थे । करिब पाँच बर्ष जती माईतीमा बसी सकेपछि श्रीमान कहिलेकाँही सांैरीकला कहाँ आउन थाले । उनको पेटमा बच्चा बसी सकेको रहेछ तैपनि उनलाई थाह भएन । एक्कासी पेटमा बच्चा चल्न थाले पछि मात्र उनले थाह पाईन की कतै म गर्भवती त भईन । नभन्दै दिनहरु वित्दै जाँदा थाह भयो । उनी गर्भवती नै भएकी रहिछन् । उनले गर्भवती हुँदा कहिले पनि अस्पतालमा गएर जाँच गराईनन् । टि.टि. खोप लगाउनु पर्छ भन्ने उनलाई थाह थिएन । आईरन चक्की र भिटामिन लगायत पोषिलो खाना र आरामको वारेमा पनि उनलाई कत्ती पनि थाह थिएन र यस्तो कुरा गर्दा पनि गरीनन् । कहिलेकाँही अल्छी लागे पनि उनलाई आराम गर्न लाज लाग्थ्यो । बच्चा पेटमा बस्दा अन्दाजी उनी पन्ध्र बर्षकी थिईन् । उनलाई त छोरा जन्माएको बर्ष पनि थाह छैन । उनले पढेकी छैनन् किनभने उनका पालामा छोरीलाई पढाउने चलन थिएन । कसैका पनि छोरीहरु पढेका थिएनन् । छोरा पनि कसै कसैका मात्र पढ्न जान्थे ।
मध्ये रातमा जब उनलाई बेथाले च्याप्न थाल्यो अनी उनलाई छिमेकी महिलाहरुको सहायताले गोठमा लगियो । स्थानीय जान्ने महिलाहरुको सहायताले उनले छोरालाई जन्म दिईन् । आफैले घास काट्ने हसियाले नाभी र सालसंग जोडियो आन्द्राको त्यान्द्रो काटेर बच्चा र साललाई अलग पारिन् । उनलाई यो कामको लागि कसैले पनि सहयोग गरेनन् किनभने त्यसपछि नलाई छुन मिल्दैनथ्यो । साललाई सोहोरेर कुनमा थन्काईन् र भोली उज्यालो भएपछि खोलामा लगेर गाडिन् र छुई नुहाउने धारामा नुहाई धुवाई गरी घर फर्किन् । जन्मेको २५ दिन सम्म उनी नावालक शिशुसंग गोठमै बसिन् । आफ्नो खाना आफै पकाउँथिन् । खानामा पनि राम्रो मिठो मसिनो केहि हुँदैनथ्यो । तर माईती मै भएको कारण आमाले सुत्केरी भएको बेलामा काममा भने पठाईनन् । माईतीमा बस्दा कसैले पनि उनलाई नराम्रो गरेनन् । सुत्केरी अबस्थामा पनि उनी अस्पताल जाँच गर्न गईनन् । बच्चालाई पनि खोप सुई केहि पनि लगाईनन् । किन भने उनलाई यो सबै कुरा गर्नू पर्छ भन्ने थाह थिएन । सिमकोट सदरमुकाम मै भए पनि सायद थाहै नभएको कारणले होला उनलाई यस बारेमा कसैले जानकारीसम्म पनि दिएनन् । कुनै पनि किसिमको जाँच नगरी उनको सुत्केरी समय बित्यो । छोरा सात बर्षको भए पछि मात्रै अस्पतालको स्वास्थ्य कार्यकर्ता बलराम श्रेष्ठले उनको छोरालाई कुममा खोपेको थियो । छोरा जन्मदा श्रीमानबाट पनि कुनै किसिमको हेरविचार गर्ने काम भएन तर उनले १० किलो चामल, १ किलो मासु, १ माना तेल र एकधार्नी ध्यू अर्कैको हातमा पठाएका थिए । नावालक शिशु काखमा च्यापी सांैरीकला गोठमा एक्लै सुत्थीन् । राती कतै कुनै किसिमको घटना घट्यो भने पनि उनलाई सहयोग गर्ने कोही पनि थिएन सिवाहे दैव । लाउने लुगा पनि राम्रो थिएन । उनीसंग भएको घरबुनाको पुरानो गावन च्यातेर बच्चालाई बेर्ने थाङना तयार पारिन् । आफुलाई राती आढ्ने तातो लुगा पनि थिएन । उनीसंग ओढ्ने पाखी र ओछ्याउने च्याङ्ग्राको छाला थियो । आगो बाल्नको लागि प्रशस्त दाउरा पनि थिएन । छोरालाई छातीमा टाँसेर तातो पार्थिन् । जसो तसो यसपालीको काल त काटिन् सौंरीकलाले । अगाडिका दिन कसरी विताउने भन्ने पिरले उनलाई पिरोल्न थाली सकेको थियो । केही समय त माईति मै सबैको काम गरेर आमा छोराको पेट पाल्ने काम भयो । यस्तै दुःख भोग्दै गईन् । आशा र भरोशा दिने मान्छे कोहि पनि थिएन । लोक लाजले गर्दा अर्काे पोईल जान पनि सकिनन् । श्रीमान् आफ्नो ईच्छा पुरा गर्न फेरी नजिकीन थाले । उनले यसको विरोध पनि गर्न सकिनन् । किनभने श्रीमानले त जे गर्दा पनि हुन्छ र श्रीमति भए पछि सबै कुरा सहेर बस्नु पर्छ भन्ने शिक्षा उनको समाजबाट उनले पाएकी थिईन् । त्यसैले उनले चुपचाप सहनु बाहेक अर्काे विकल्प कुनै दखिनन् ।
फेरि अर्की छोरी जन्मी । एक बर्ष सम्म अनेकौं दुःख झेल्दै उनले त्यसलाई पनि पालन पोषण गर्न गाह्रो हुन थाल्यो । अस्पताल जाँच गर्न जाउ भने पैसा पनि थिएन । छोरीलाई पनि उनले कुनै किसिमको अस्पताल जाँच गराईनन् । एक बर्ष पछि राम्रो स्याहार र पालन पोषणको अभावमा छोरीको मृत्यू भयो । श्रीमानको घर पनि नजिकै थियो । के भईरहेको छ सबै कुरा थाह हुन्थ्यो । उनकी छोरी मरेको दिनमा श्रीमानले कुखुुरा काटी खाएका थिए रे । छोरीलाई हेला गरेर होकी भन्ने प्रश्न सोध्दा उनी भन्छीन् । स्याहार त सबैलाई उस्तै किसिमले गरेकी थिंए तर छोरी मरी हेलाँ गरे जस्तै भयो । आफैलाई दिक्क लागेर आयो । माईतीलाई पनि कति दुःख दिने जस्तो लाग्न थाल्यो । छोरालाई च्यापेर गाँउकै भिनाजु पर्नेको गोठमा बसें । त्यतीबेला मसंग केहि पनि थिएन । कसैलाई थाल, कसैलाई कचौरा, कसैलाई पकाउने भाँडा मागे । ढुङ्गाको चुलो बनाएँ । त्यस बेला सिमकोटमा जिल्ला अस्पतालको भवन बन्दै थियो । त्यहिं ज्यामी काम गरें । छोरालाई बोकेर जान्थें । एक ठाँउमा राख्थें । अनी काममा लाग्थें । केही दिनको लागी त यसरी नै आमाछोराको गुजारा चल्यो । तर समय वित्दै गयो । सौताले त्यस गोठमा पनि बस्न दिईनन् । अनी जिल्ला विकास समितिको घोडा तवलामा सरीन सांैरीकला । केहि दिन त्यहि घोडा तबेलामा गुजरा गरिन् । त्यहि पनि बस्न उनलाई गाह्रो भयो । अनी बजारमा हवल्दार भन्नेको घरमा कोठा खोजी बस्न थालीन् । कोठा भाडा त्यती बेला तीन सय रुपीयाँ थियो । यस बेला सम्म अर्काे छोरा पनि जन्मी सकेको थियो । अर्काे छोरा गाँउले भिनाजु पर्नेको गोठमा जन्माईन् सौरीकलाले । सानो छोरा जन्मदा ठूलो छोरालाई स्कूल पठाउन थाली सकेकी थिईन् । स्कूल ड्रेस लगाउनु नपर्ने र कितावहरु नकिन्नु पर्ने भएकोले छोरालाई स्कूल पठाउने आँट सौंरीकलामा आएको थियो तर पेट भरी खानाको अभावले भने सधैं पिरोली नै रहन्थ्यो ।
आज संसारमा सबै भन्दा ठुलो लडाई बाँच्नकोलागि भई रहेको छ । यसको लागि चाहिने आधारभुत आबश्यकतामा खाना, माना र छाना का साथै शान्ति र सुरक्षा पनि हो । यी सबै कुराहरु उपलब्ध गर्न भलै आफ्नो कर्तब्यमा निष्ठावान् बन्न सायदै सकिरहेकाृे किन नहोस हर ब्यक्तिका मुखबाट अधिकारका कुराहरु पहिले निस्किने गर्छन् । हुन पनि हो, बाँच्नका लागि र यी सबै कुरा पाउनको लागि अधिकार सुनिश्चित हुनु पनि जरुरी हुन्छ पनि ।
सौंरीकला रोकायाको यो कुराले गर्दा मलाई पर्न गएको एउटा घटनाको सम्झना आयो । २०६५ साल भदौ ३ गते म च्भ्म्ए (ग्रामिण उर्जा विकास कार्यक्रम) को कार्यक्रम संझौता गर्न जिल्ला विकास समिति, हुम्लामा गएकी थिए । सम्झौतामा लेखिएका सवै सर्तहरु सरसर्ती हेरे । सबै निर्देशनात्मक किसिमका सर्तहरु थिए । एउटा सर्तमा गएर म अडिए । त्यहाँ थियो “यदि महिला कर्मचारी भए सुत्केरी विदा १५ दिन मात्र दिईनेछ र यदि १५ दिन भन्दा बढी विदामा बस्नु परेमा अर्काे एकजना कर्मचारीको ब्यवस्था गर्नु पर्नेछ ।” यो पढ्दा म छाँगाबाट खसेझै भए र मैले भने हाम्रो सँस्थाले त यदि घरमा श्रीमति सुत्केरी छ भने श्रीमान लाई पनि १५ दिन सुत्केरी स्याहार गर्ने विदा दिने भन्ने नीति वनाएको छ । तर यहाँ त १५ दिन विदा स्वयम महिलाको लागि मात्र रहेछ ।
मात्र १५ दिन विदा दिनु आफैमा एक किसिमको महिला माथी हुने हिंसा र शोषणको प्रवृत्ति भएको ठहर्छ भने उ सुत्केरी भएर विदामा बसेकै कारण उसले त्यो पाएको रोजगारबाट पनि हात धुनु पर्ने हुन्छ । या सबै महिला भएकै कारणबाट हुन गएको होईन र ? के यही हो सकारात्मक विभेदको उदाहरण ? के यही हो महिला र पुरुषको समानताको नतिजा ? के यहि हो महिला माथि देखाईने पुरुषत्व ? के यहि हो सरकारको प्रसुति सेवामा गरेको थप न्यायिक सेवा ? के हुम्ला जिल्लाका महिलाहरु गोठमा सुत्केरी हुन्छन् र राम्रा, न्याना लुगाको ब्यवस्था गर्न सक्दैनन् भन्दैमा उनीहरु लाई धेरै दिन विदाको आवश्यकता पनि छैन ? यहाँ एउटा महिलाको मौलिक हकको बन्देज लगाईएको भान मलाई भयो । पुरुषबादी सोचमा केन्द्रीत भई यस्तो नीति ल्याईएको हो वा अन्य जिल्लामा पनि यस्तै हो वा यस जिल्लामा मात्रै यस्तो नीति बनाईएको हो, मलाई थाहा भएन ।
विकसित ठाँउहरुमा हिंसा विरुद्धकै लागि भनेर विभिन्न किसिमका दवाब, धर्ना, जुलुस, बन्द जस्ता क्रियाकलापहरु भई रहेको हामीले देखेका छौं । तर यहाँका महिलाई आफु माथि भएको विभिन्न किसिमको हिंसाको वारेमा पनि थाह छैन । उनीहरु यस्ता किसिमका हिंसालाई महिला भएर सहनु भर्ने कुरा भनेर स्वीकार गर्दै चुपचाप सहेर बस्न बाध्य छन् । बयष्क भए पछि मात्र अधिकारको सुनिश्चता गरिने भए कि त जन्मदा पनि बयष्क नै जन्मनु पर्ने थियो । जन्मदाको त्यही सानो बालक नै भोलीको वयष्क हो अथवा राष्ट्रको एउटा नागरिक हो । भ्रुणमा भए देखि नै उसको अधिकारहरु सुरक्षित हुनु पर्छ । ताकि उसले स्वस्थ भई वाच्ने अधिकार पावोस । यहाँ त यस सर्तले महिला अधिकार र वाल अधिकार दुई दुई जनाको अधिकारको हनन गरिएको छ । यहाँ जो कोहीले पनि एउटा मानवियताको हिसावले कल्पना सम्म पनि गर्न सकिन्छ । १५ दिनकी सुत्केरी आमा कसरी कार्यालयको काममा खट्न सक्छे ? के उसको मन मस्तिष्कले कार्यालयको काममा ध्यान दिएको होला ? यदि काममा लाग्नु परिहालेछ भने पनि उसको आत्मले काममा लगाउनेलाई कति सरापेको होला ? त्यसैले कसैको पनि जिन्दगी माथि खेलबाड नगरी यस्ता नीति बनाउदा विशेष ध्यान दिनु जरुरी छ ।
यस्ता हजारौं सौंरीकला भएको ठाँउका महिलाले के आफ्ना हक र अधिकारका कुराहरुलाई अगाडि बढाउन सक्लान् र ? सुत्केरी माथि गरिने यस्तो हिंसा जन्य अपराध र तत्सम्बन्धी भएको ज्ञानको कमीले गर्दा भोग्नु पर्ने खतराहरुसंग जुध्नु नै यहाँका महिलाहरुको सामाजिक धर्म मानिएको छ । एउटा सुत्केरी महिलाको जीउ वलीयो हुन लाई राम्रो खाना र उचित आरम भयो भने झण्डै छ महिनाको समय लाग्छ । कतिपय कार्यालयहरुमा सुत्केरी भएकै कारण जागीर बाट हात धुनु परेको तथ्य पनि हाम्राृे सामु छ । महिला गर्भिणी भए फिल्डको काम गर्न नसक्ने भन्ने आरोप लगाई जागीरबाट निकालिन्छ । लामो समय विदामा वस्दा अफिसको काममा केही वाधा त पर्छ नै त्यो त उसकोृ प्राकृतिक नियम हो । उसले जानी जानी त्यो बनाएको होईन । चाहेर पनि पुरुष आमा बन्न सक्दैन । वच्चा पेटमा वोक्न सक्दैन, जन्म दिन पनि सक्दैन र दुध चुसाउन सक्दैन । आमा वन्नु , जन्म दिनु, दुध चुसाउनु एउटा महिला भएको कारणले पाएको प्राकृतिक अथवा जन्मसिद्ध अधिकार हो । के रहर गर्दैमा महिलाले जँुगा उमार्न सक्छ र ? सक्तिन नी । हो त्यसैले यस्ता प्राकृतिक नियम विरुद्ध पुरुषबादी नीति नियम बन्नु हुदैन ।
(लेखक स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाका अध्यक्ष हुन् )
Comments
Post a Comment