एसियाली अवधारणामा सञ्चार सिद्धान्त
श्रीराम खनाल
हामी सञ्चारका अध्यापकहरु सञ्चारका पश्चिमा सिद्धान्त र ढाँचा पत्रकारिता तथा आमसञ्चारका विद्यार्थीहरुलाई खूव घोटाउँछौ । तर हामी प्राच्य सञ्चारका ज्ञान भण्डारको रुपमा रहेको पूर्वीय दर्शनका वारेमा खासै चर्चा गर्दैनौ । के एसियाली परिप्रेक्ष्यमा सञ्चार सिद्धान्त वनेका छैनन, एसियाली विद्वान सञ्चारशास्त्रीहरुले यस क्षेत्रमा कलम चलाएका छैनन ? अहिले सम्म सञ्चारको एसियाली अवधारणा वारे कति काम भएका छन ? यो लेख यिनै विषयवस्तुमा केन्द्रित छ । सञ्चार प्रेषक र प्रापक वीच हुने प्रणालीवद्ध प्रक्रिया हो । यो अन्तहिन छ । यो मावन जीवन सार्थक वनाउने प्रक्रिया हो । सञ्चार विना मावन जीवन अपुरो र अधुरो रहन्छ ।
अहिलेसम्म प्रतिपादन भएका पश्चिमा सञ्चार सिद्धान्तहरु मुख्यतया दुई वटा अवधारणासँग सम्वन्धित छ । पहिलो अवधारणा अनुसार एउटै संस्कृति भाषा र सामाजिक मान्यता भएका समरुप श्रोता भएका समाजमा सञ्चार सफल हुन्छ अर्थात एउटै रिचुअल भएका समाजमा सञ्चार सफल हुन्छ । अर्को अवधारणाले फरक धर्म, संस्कृति मान्ने वा विविधतापूर्ण समाजमा प्रेषकले प्रापकलाई जित्नुपर्ने वा अभिप्रेरित पार्नुपर्ने मत राख्दछ । तर फरक फरक मूल्य मान्यता र सांस्कृतिक पृष्ठभूमि भएका समाजमा एकता, सामजस्य कायम गर्ने वा हार्मोनी कायम गर्ने काम सञ्चारले गर्दछ भन्ने एसियाली अवधारणा सार्वजनिक भएको छ । अर्थात् एसियाली अवधारणाले प्रेषक र प्रापक वीच सामजस्यता ल्याउने प्रयोजन सञ्चारको हुन्छ भन्ने अन्र्तवस्तु बनाएको छ । एसियालीसञ्चारशास्त्रीहरु जस्तै चीनिया सञ्चारशास्त्री जी.एम. चेनले कन्फुसिएससको दर्शनमा आधारित भएर, जापानी सञ्चारशास्त्री योसिताका माइकले एसिया केन्द्रित अवधारणा, अमेरीकी नागरिक कर्कउडले हिन्दु अवधारणा अर्थात् सञ्चारमा मौनता(साइलेन्स) को भूमिकालाई जोड दिएका छन् । श्रीलंकाली सञ्चारशास्त्री विमलदिशानायके एवं गुणरत्नेले वौद्ध दर्शनमा आधारित भई सञ्चारको एशियाली दृष्टिकोण प्रस्तुत गरेका छन् । नेपाली सञ्चारशास्त्री निर्मलमणि अधिकारीले साधारणीकरण मोडल र मिमांशा दर्शनमा आधारित सञ्चार दृष्टिकोण सार्वजनिक गरी विविधतापूर्ण समाजमा सञ्चार हुन्छ भन्ने दृष्टान्त पेश गरेका छन् । उनले सह्दयतालाई सञ्चारको केन्द्रविन्दु बनाएका छन । यसबाट एशियाली अवधारणाबाट सञ्चारसिद्धान्तको चर्चापरिचर्चा भएको प्रतित हुन्छ ।
सञ्चारको एसियाली सिद्धान्तको निर्माणमा एसिएन मिडिया इन्फरमेशन एण्ड कम्युनिकेशन (एमिक) को बिशेष भूमिका रहेको छ । एमिकले सन् १९८५ देखि सन् १९९७ सम्म सञ्चारमा एशियाली मान्यताको स्थापनार्थ व्यापकरुपमा छलफल, बहस र चिन्तमनन गर्नका लागि अहिलेसम्म आठ वटा सम्मेलन सम्पन्नगरिसकेको छ । ती सम्मेलनमा एशियाली क्षेत्रका सञ्चारविज्ञ,प्राध्यापक,दार्शनिक आदिको सहभागिता रहेको पाइन्छ । ती सम्मेलनहरु मुख्यतया दुई वटा उपागमसँग सम्वन्धित छन् । पहिलोले सञ्चारमा एशियाली अवधारणा र पत्रकारितामा एशियाली मान्यताको स्थापनासँग सम्वन्धित र दोस्रो प्रेस स्वतन्त्रता एवं पत्रकारिताको एसियाली मानदण्डसँग सम्वन्धित रहेका छन् ।
एसियाली राष्ट्रहरु जस्तै नेपाल,भारत,चीन,जापान, श्रीलंका आदिका सांस्कृतिक,जातीय,धार्मिक,सामाजिक,दार्शनिक,साहित्यीक,कलापक्षको विशेषतालाई अध्ययन गर्ने हो भने यी देशहरु प्राच्य वैदिक, हिन्दु, बौद्ध, इश्लामीक मान्यता गहन अन्वेषणवाट एशियाली मान्यताको सञ्चार सिद्धान्त निर्माणको आधारशीला मात्र होइन कोसेढुंगा बन्नेछ । एसिया महादेशको राजनैतिक,दार्शनिक र साहित्यीक कलाको सम्पन्नताको स्रोतवाट प्रस्फुटित ज्ञान वढि महत्वपूर्ण छ । एशियाली दर्शनशास्त्रले प्रस्तुत गरेका विचारहरु प्रयोग गरी आजसम्म प्रतिपादन भएका पाश्चात्यसञ्चार सिद्धान्तमा रहेका कमीकमजोरीहरुलाई हटाउने दिशातिर उन्मुख हुनुपर्दछ । यस क्रममा पश्चिमा दृष्टिकोणको परिमार्जन,परिष्कृत र शुद्धीकरण गर्दै नयाँ विचारधारा जन्माउन सकिन्छ । साथै यसवाट सञ्चार सिद्धान्त यर्थाथसँग वढि नजिक वन्न सक्छ । युरोप र अमेरिकी विद्वत समाजवाट प्रतिपादन भएका वा भइरहेका सिद्धान्त र विचारधारालाई अन्धधुन्द अनुकरण गर्नु भन्दा पनि हालसम्म मान्यता प्राप्त सञ्चारसिद्धान्त,मोडल,दृष्टिकोणको पुर्नविचार,पुनमूल्यांकन गर्नुपर्दछ । पश्चिमा र एसियाली मान्यताको तुलनात्मक अध्ययन गर्न सकेमा त्यो अझ वैज्ञानिक हुन जान्छ ।
हिन्दु धर्मगन्थ्र जस्तै वेदान्त दर्शन,रामायण, उपनिषद्,रामचरित मानस,वाक्यपदीय,भर्तृहरि, मिमांशा दर्शन,भरतमुनिका नाट्य शास्त्र हिन्दु अवधारणमा सञ्चार सिद्धान्त निर्माणका असली स्रोतहरु हुन भने वौद्ध ग्रन्थ, त्रिपिटक, इश्लामीक ग्रन्थ कुरानआदिलेप्रस्तुत गरेका विचारहरुले सञ्चार सिद्धान्त निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ । प्राची वाङ्मय जस्तैकाव्यशास्त्र,दर्शनशास्त्र,भाषाशास्त्र अध्ययनवाट एशियाली सञ्चार सिद्धान्तका जननी वन्ने देखिन्छ ।तत्वमिमांशा र ज्ञान मिमांशा शास्त्रद्वारा समृद्ध एशियाली क्षेत्रकोसंस्कृति अध्ययनअर्थात् यस्ता विचार दर्शनले एसिशाली सञ्चार सिद्धान्तको दिशानिर्देश गर्दछ । एसियाली दृष्टिकोण कार्यवाद र व्यवहारवादमा विश्वास गर्दछ जुन प्रकृति र पुरुषको सिर्जनशील समन्वयवाट जन्मने एक्येक स्वरुपको विश्वासिलो आधार हो ।
एसियाली क्षेत्रको आधुनिकीकरणमा सञ्चारले अहम भूमिका निर्वाह गर्दछ । यसमा दुई मत हुन सक्दैन । यसलाई अहिले पश्चिमा संस्कृति र सञ्चार साम्रगीले प्रभावित तुल्याएको छ । एसियाली राष्ट्रका सरकारहरुले पनि पश्चिमा संस्कृति र मान्यता विरुद्ध लाग्ने भन्दा पनि आफ्नै मौलिक ढाँचा विकास गर्न जरुरी छ । एसियाको जातीय,धार्मिक,सांस्कृतिक, आर्थिक पक्षमा भएका विविधता मध्यनजर राख्नुपर्दछ । यस क्षेत्रका साझा एजेण्डाहरु मानवअधिकार,प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रतालाई अगाडि वढाएमा मात्र यस क्षेत्रको विकास संभव छ ।
(लेखक आम सञ्चार तथा पत्रकारिताका प्रध्यापक हुन् )
Comments
Post a Comment