देवर विरुद्ध बहुविवाहको उजुरी


सुर्य घिमिरे
आज भन्दा झन्डै २० वर्ष पहिले सानो नोकरीको शिलशिलामा मलाई हुम्ला जाने अवसर प्राप्त भएको थियो । वि.स. २०४८ साल माघ महिना तिर हो पहिलो दरबन्दी हुम्ला कायम भएपछि त्यहाँ जानको निमित्त झोला बोकी नेपालगञ्ज तिर लागियो । जानु भन्दा पहिेले हुम्लामा हिउँ पर्छ जहाज चढेर जानु पर्छ भन्ने जानकारी थियो , नभन्दै नेपालगञ्ज पुग्दा सिमकोटमा हिउँ परेको रहेछ । जहाज चलेको छैन् भन्ने थाहा भयो । नेपालगञ्जमा १९ दिन बस्नुपर्दा सिमित खर्च सकिएर बेहाल भयो । शुरुकै अवस्थामा कठिनाई भोग्नु पर्दा बाकी समय कस्तो पो हुने हो भनी चिन्ता पनि लाग्न थाल्यो । १९ औ दिन सिमकोटको एयरपोर्टमा पुग्दा थुप्रै मान्छेहरु एयरपोर्ट वरिपरि झुम्मिएका थिए , किन होला भन्ने सोचे । पछि थाहाँ भयो , त्यसलाई हवाई मेला भनिदो रहेछ । नेपालगञ्ज अर्थात हाटबाट खाने लाउने सामान र आफन्त आउँछन् भनेर धेरै मानिस भेला भएका रहेछन् ।
    कार्यालयबाट मलाई अपराध अनुसन्धान शाखामा काम गर्ने आदेश भयो । त्यहाँ त्यति धेरै घटनाहरु नघटने भएतापनि मलाई त्यहाँको एउटा घटनाको अझै पनि याद आउँछ । एकदिन एकजना आईमाई एउटा ठुलो ढुङगो काधमा राखेर छिटोछिटो मतिर आईन सायद उजुरी लिने व्यक्ति भनेर साथीहरुले मलाई देखाएर होला । अनि मलाई ढुङगो बोकेर दौडदै आएको देखेर अच्चम लाग्यो । मैले मनमनै सोचे कसैले त्यो ढुङगाले उनलाई हानेछ क्यार , तर त्यस्तो हैन रैछ । त्यो ढुङगो भुईमा राखेर उनले आफनो उजुरी सुनाईन् । उनले एउटा बहुविवाहको मुद्दा लिने कुरो गरिन् । मैले तपाईको पति कहाँ हुनुहुन्छ भनी सोधे तर उनले उजुरी पतिको विरुद्ध नभई देवरको विरुद्धमा दिने कुरा गर्दा म त छक्क परे र किन भनी प्रश्न गर्दा पो थाहाँ भयो । उनी लामा समुदायको रहिछिन् । उनको समुदायमा जतिजना दाजुभाई भएपनि एकभाईले विवाह गरेपछि सबैजनाको एउटै साझा श्रीमती हुने रहेछ । त्यस कारण देवर पनि पति हुने भएकोले र देवरले अर्को विवाह गरेकाले  उजुरी दिन चाहेको बताईन् । अनि मैले पुनः सोधे त्यो ढुङगा केको लागि भनेर ? आफुलाई धेरै अन्याय परेकाले बोझको प्रतिक त्यो ढुङगा प्रस्तुत गरेको बताईन् । मैले यस्तो मुद्दा नेपालको मुलुकी एन मुताबिक दर्ता गर्न मिल्दैन भन्दा उनले मान्दै मानिनन् । पछि स्थानीय भलादमीले उनलाई सम्झाए ।
    त्यसको केहि समयपछि मलाई बेलायती पर्यटक समूहको सम्पर्क अधिकृत भई मानसरोवर जाने अवसर मिल्यो । मानसरोवर जाने आशामा म निक्कै हर्षका साथ मुचुतर्फ लागे तर र्दुभाग्यवश म यारी नाकाबाट माथि जान सकिन । मलाई हाइ अल्टिच्युट लागेछ , म बिरामी परे र त्यही यारी नाकाबाट फर्के । फर्कने क्रममा मुचुमा एकदिन बस्नु पर्यो । एकजना लामाजीको घरमा गएँ । त्यहाँ जाने वित्तिकै एउटा काठको ठुलो कचौरा जसमा चादीँको बुटा कुदिएको थियो ।  मलाई तिब्तीयन चिया खानु भन्नु भयो तर त्यस कचौराको तीन वटा छेउँमा घीउ लगाएको थियो , अनि म अलमलिए , पहिले घीउँ खाने कि चिया भनी । चियामा किन घीउँ राखेको होला भन्ने कुरा मेरो मनमा खुलदुली लागिरहयो । पछि थाहाँ भयो । त्यहाँको सत्कारमा पाहुनालाई अत्यिधिक सत्कार गर्दा त्यस्तो गरिदो रहेछ ।  मानसरोबर दर्शन गर्ने सपना साकार नभएपनि हुम्लाका मनोरम दृश्य अवलोकन गर्न पाउँदा अत्यन्तै रमाईलो लाग्यो ।
    त्यसपछि करीब एक वर्ष बितिसकेपछि कामको शिलशिलामा म नेपालगञ्जमा आउनु पर्यो । हिउँद कै समय थियो , फक्रने बेलामा फेरी सिमकोटमा पहिले जस्तै हिउँ परेर जहाज जान सकेन , निक्कै दिन नेपालगञ्ज बस्नुपर्ने भयो । त्यत्ति बेला सम्म हुम्लाको गोठी गाउँले  मलाई जीवन साथी पनि दिईसकेको थियो । धेरै दिन नेपालगञ्जमा बस्नु भन्दा पनि बाजुराको कोल्टीको लागि जहाज पाईने हुदा र त्यहाँको आफना ईष्ट मित्रजनहरु सँग पनि भेटघाट हुने हुदाँ कोल्टी हुदै पैदल जाने निधो गरे । बाटो नचिनेको भएता पनि गोठीका मेरा आफन्त दाजु भीम बहादुर शाही ,केश बहादुर शाही र भाई तेजविक्रमको साथ पाउँदा कुनै समस्या भएन । बाजुराको कोल्टी झरेपछि बाधु हुदै हामीले पैदल यात्रा सुरु गयौ । कहिले ओडारमा त कहिले खुला आकाश मुनी बास बस्दै एकदिन तुम्चा नजिकैको ओडारमा बास बस्नु पर्ने भयो  हामीसँग खाना  पकाउने सामाग्री थिएन तर चामल भने थियो । ओडारमा चामल पकाउने साधन नएकोले त्यो चामल तुम्चा गाउँमा लिएर पिठोसँग साटने निधो गर्यौ ।  चामल साटनको लागि  गाउँमा पस्यौ । हामी एउटा घरमा गयौ ,हामी त्यहा जाने बित्तिकै केहि नबोली घरका मान्छे खेतमा गए । फेरि तेस्रो घरमा जादा मान्छे सँग कुरा गर्न पाईए पनि  चामल सँग पिठो साट्न मानेन । त्यसरी नै २÷३ घरमा सोधियो कसैले पनि चामल साटन नमान्दा त्यो रात भोकै सुतियो । बाटो हिड्दै जादा हामी मैला कवाडी भन्ने स्थानमा पुग्यौ । त्यहाँ प्रहरी चौकी पनि स्थापना भएको थियो । त्यही चौकी  पारीपट्टी करीब १५ मिनेटको बाटो बाकी थियो । त्यहाँ एउटा भिर बाटो काटिएको रहेछ । मैले त्यो भिरको बाटो पार गर्न सकिन । वैकल्पिक बाटो भए जाउँ न भने भीम बहादुर दाजुले भन्नु भयो यताबाट जान नसके जैर भन्ने ठाउँबाट जानु पर्छ । त्यो बाटो हिड्न फेरि तीन दिन लाग्छ भन्नु भयो । अब के गर्ने । भीरको बाटो निकै खतरा छ , तल कर्णाली नदी माथी भीरको बाटो अत्यन्तै जोखिम मोल्नु पर्ने ।  अघिल्नो दिन एउटा बटुवा खसेर चिनो समेत फेला परेन भन्र्थे । निकै समस्या पर्यो । मैले गर्दा साथमा हुने साथीहरुलाई पनि समस्या पर्यो । केश दाजुले मेरो हातमा नाप्लोले बाधेर मलाई भीरबाट तान्नु भयो । यसरी निकै साघुरा र भीरको बाटो हुदै चौथो दिनमा गोठी पुगियो । पुगेकै भोली पल्ट पूर्णिमाको दिन थियो । धाराको मष्ठा मारुमा पूजा रहेछ । शंख धामी त्यहाको प्रसिद्ध धामी मानिनु हुदो रहेछ । पत्तुर्ने क्रममा उहाँले जौ हातमा राखेर तिलक बनाई मलाई लगाई दिनु भयो । अनि तातो तेल पिउने , त्रिशुलले पेटमा घोच्ने जस्ता चमत्कार देखाउनु भयो मलाई अहिले पनि सम्झना आईरहन्छ ।  हुम्ला रहदाको यस्ता अविस्मरणीय क्षणहरु मेरो मनमा ताजै छन् । मलाई लाग्छ पहाडी र हिमाली भू—भागका कारण यातायात को कठिनाई भएता पनि अत्यन्तै सुन्दर ठाउँ , प्राकृतिकको सुन्दरता र सस्कृतिको धनीमात्र नभई पर्यटकीय र जडिबुटी व्यवसायको लागि अत्यन्तै सम्भावना बोकेको ठाउ हो हुम्ला । वास्तविक नेपाललाई  बुझन चाहाने हो भने. एक पटक हुम्ला पुग्नु पुग्नु पर्छ । विशेष त नेपाललाई स्वीजरल्याण्ड बनाउछु भन्नु भन्दा नेपालको प्राकृतिक सम्पदा स्वीजल्याण्ड भन्दा कम छैन् । भौतिक पूर्वाधारको विकास गर्न जरुरी छ भन्ने बुझन नेपालका नेताहरु एक पटक हुम्लामा पुग्नु जरुरी छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही