भुवा तिहार
नन्द बहादुर ऐडी
विशेष गरि भैलो पुर्णिमाको १५ दिन पछिको औसीमा भुवा तिहार पर्दछ । भुवा तिहार व्याँसी थपाल्याहरुको मुख्य पर्व हो । यसै पर्वको दिनबाट व्याँसी थपाल्या समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ । जनावरका नामाकरण गरिएका वर्षहरु यहि पर्वबाट नै परिवर्तन हुने गर्छन् । जसरी हिन्दु धर्मालम्बीहरुले आफनो महान पर्व दशैमा नयाँ लुगा लगाउनुका साथै मिठो परिकारका खाने कुराहरु खाने गर्छन् त्यसै गरि यस व्याँसी थपाल्या समुदायमा पनि यस पर्वको बेला नयाँ लुगा लगाउनुका साथै मिठा मिठा परिकारहरु खाने चलन छ । यस दिनमा विशेष गरि अन्य पर्वका दिन जस्तै भात चिउला (पुरी ) पकाई खाने र आफना नजिकका नाता पर्ने चेली बुहारीहरुलाई अगरस खुवाउने चलन रहेको छ । यस पर्व व्याँसी थपाल्या समुदायहरु बीचमा पनि फरक फरक तरीकाले मनाउने चलन रहेको छ । मेल्छाम र गोठी गाविसमा भुवो खेल्ने भनेर औसीको अघिल्नो रातमा झरो सल्काएर विधिगत तरीकाले भुवो पुकारीन्छ साथै रातभरी भुवो खारामा देउडाका विभिन्न खेलहरु खेल्ने गरिन्छ भने रोडिकोट , बराई लगायतका गाविसमाहरुमा दिउसो फुर्का खेल खेली उक्त राती देउडा खेल खेलिन्छ , यसरी व्याँसी थपाल्या समुदायका मानिसहरुबीचमा पनि फरक फरक तरीकाले यो पर्व मनाउने गरिन्छ ।
के के गरिन्छ त यस पर्वमा ?
यस दिनमा बिहान सबेरै उठेर पुरुषहरु खोलामा पुराना वाँसका सामाग्री लिएर नुहाउन जान्छन् । खोलामा ठुलो आगो बाली नुहाउछन् र दहिचामल (टिका ) लगाएर घर फर्किन्छन् । यसलाई वर्ष दिनको मैलो फाल्नु भनिन्छ र अर्को अर्थमा काग नुहाईलो पनि भनिन्छ । जसरी काग यसै पर्वका दिनमा खोलामा पसेर शरीर मात्र भिजाउँछ , त्यसै गरि शरीर मैलो नभए पनि शरीर भिजाएर मात्र भएपनि औपचारी पूरा गर्नको लागि भएपनि नुहाउनु पर्छ । उता महिला वा घरको घरिना हरुले भात चिउला बनाउछन् र यस दिनमा सबेरै खानपान हुन्छ । कुमारी छोरी बहिनीहरुले पिठाहा (पहेलो टिका ) लगाउने चलन छ । उनीहरुलाई दक्षिणा स्वरुप २ ÷२ वटा चिउला र एक थाल भात दिने चलन छ । यस दिनमा कागलाई पनि अगरस दिने गरिन्छ । एउटा चिउलोमा सानो ढिको भात भोज पत्रमा राखी का ,का तेरो अगरस खाईजा भन्दै बोलाउने गरिन्छ । बिहान करीब १० बजेतिर पित्तरबाटमा गएर मुया पुज्ने गरिन्छ । पित्तरबाटको मुयालाई अन्य चाडपर्वका दिनमा पुज्ने परिएता पनि यस दिनमा विशेष र फरक तरीकाले पुज्ने गरिन्छ । प्रत्येक घरबाट प्रति पुरुष २ वटाका दरले चिउला र एक थाल भातका साथै दुध लिएर पुजिन्छ । यदि कुनै मानिस मरेको भए यसै दिनबाट पूर्ण रुपमा चोखिने गर्छन् । उक्त घरबाट १ ताउलो भात १ फिला खसीको मासु राखिन्छ , उक्त मासु भाचेर विभिन्न घरबाट आएका भात , चिउला सँग मिसाईन्छ । यसैलाई हारी मिसाउने भनिन्छ । यसरी पूजा गदै गर्दा महिलाहरु जसमा पनि छोरी चेलीहरुले पिठाहा लगाउने गरिन्छ । पुजा गरिसकेपछि बाजागाजा सहितको फुर्का खेल खेलिन्छ । बुढा र ऐडीहरुको आ — आफनो पित्तरपाट हुन्छ र फरक तरीकाले मुया पुज्ने गरिन्छ । दुबै पक्षको पुजा सकिएपछि दुबैतिर बाट फुर्का खेलका खेलाडीहरु छुटाछुटै लाईनमा रहि फुर्का खेल्छन् र बाजा गाजाहरु आपसमा जुध्दछन् । अनि मात्र एकै लाइनमा रहि फुर्का खेल्छन् । दिनभरी फुर्का खेल खेलिसकेपछि बेलुका पटि पुरुषहरु जसमा युवा पुस्ताहरुले छेलो ( सटपुटको अविकसित रुप ) हान्ने गर्छन् । विभिन्न नाचगानका साथै चेतनाको नाटकहरु प्रस्तुत गर्ने चलन छ । बेलुकाको खाना खाईसकेपछि रातभरी देउडा खेल खेलिन्छ । यसरी व्याँसी थपाल्या समुदायको मुख्य पर्व भुवा तिहार सम्पन्न हुन्छ ।
Comments
Post a Comment